Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन

सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन

काठमाडौँ :  बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले मंगलबार राति ८:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको वा एकतर्फी मात्रै खुला रहेको जनाएको छ।

कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्गमा साउन १२ गते आएको बाढीले बाटो प्रभावित भए पनि हाल वैकल्पिक बाटोसहित एकतर्फी सुचारु रहेको छ। इलामको राजदुवालीस्थित मेची राजमार्गमा साउन २३ गतेदेखि पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध छ, जहाँ अर्को वैकल्पिक बाटो प्रयोग भइरहेको छ।

यस्तै, खोटाङको माम्खास्थित मध्य पहाडी लोकमार्ग साउन ३ गतेको पहिरोका कारण तथा पाँचथरको कोप्चेस्थित राँके रवि भेडेटार सडक साउन ५ गतेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।बागमती प्रदेशका मुख्य राजमार्गमा पनि बाढी र पहिरोको जोखिम बढेको छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्‍जेबेँसी चल्ने बी.पी. राजमार्गमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै साउन २२ गतेदेखि अर्को सूचना नभएसम्मका लागि साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सो खण्डमा बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म परिस्थिति हेरेर गाडी चल्न दिइएको छ।

सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छ। मकवानपुरको कान्तिलोकपथ खण्डमा साउन २९ गतेदेखि अर्को सूचना नभएसम्मका लागि रातिको समयमा (साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ। रसुवाको बोकेझुन्डास्थित पासाङ ल्हामु सडक खण्ड भने साउन २ गते पहिरो गए पनि हाल एकतर्फी सुचारु रहेको छ।

गण्डकी र कर्णाली प्रदेशमा पनि पहिरोले सडक सञ्जाल प्रभावित बनाएको छ। बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर र गोरखाको लिडिङस्थित आरुघाट माछिखोला सडक खण्ड साउन १ र ५ गते खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

कर्णाली प्रदेशको जाजरकोटस्थित नलगाड नगरपालिका-८ बगरमा साउन १ गते पहिरो जाँदा भेरी करिडोर जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द रहेको छ।

752648643_2894163860941052_606863347968468692_n_lXKHMf9UpE.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट