मकवानपुर : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमार्गमा बुधबार बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटौँडा–भैँसे–काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराजमार्गमा आज साँझ ६.३० बजेदेखि भोलि बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको उल्लेख छ। यही असार २८ गते रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको प्रशासनको सूचनामा उल्लेख छ।
मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको भन्दै प्रशासनले बागझोर क्षेत्रमा जुनसुकै समयमा गेग्रनसहितको पानीको भेल आउन सक्ने जोखिम रहेको उल्लेख गरेको छ। भीमफेदीस्थित बेलिब्रिज मर्मतको क्रममा रहेको तथा वैकल्पिक डाइभर्सन बाढीले बगाएको, हेटौँडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौँ जाने सडकखण्डमा वर्षा हुनासाथ ढुङ्गा खस्ने तथा पहिरो जाने उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यी सडक खण्डमा भोलि बिहानसम्मका लागि सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
हाल कायम रहेको विपद् जोखिमलाई दृष्टिगत गरी अत्यावश्यक अवस्थाबाहेक रात्रिकालीन समयमा कुनै पनि सडकमार्गमा यात्रा नगर्न सम्पूर्ण सवारी चालक तथा यात्रुहरूमा प्रशासनले अनुरोध गरेको छ। कुनै विपद्जन्य घटना घट्न गएमा वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको निशुल्क सम्पर्क नं १२३४, सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई यथाशीघ्र जानकारी गराउन प्रशासनले सबैमा आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij