मकवानपुर : लगातारको वर्षापछि मकवानपुरका खोलानालामा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटी चालक बाढीमा बेपत्ता भएका छन्।
सोमबार आकस्मिक रूपमा आएको बाढीले स्वकुटीसहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजेतिर कुलेखानी ड्याम नजिक रहेको सिमखोला तर्ने क्रममा स्वकुटीसहित चालक बाढीमा बगेका हुन् ।
घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार बेपत्ता भएका व्यक्तिको परिचय अझै खुल्न सकेको छैन । स्कुटीको नम्बर तथा चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरणसमेत यकिन हुन बाँकी रहेको उनले जानकारी दिए ।
‘एक जनाले चलाएको स्कुटी बाढीले बगाएको भन्ने सूचना आएको छ। तर बेपत्ता भएका व्यक्ति को हुन्, स्कुटीको नम्बर के हो र कहाँ जाँदै थिए भन्ने विवरण अझै खुल्न सकेको छैन । खोजी कार्य जारी छ,’ उनले भने ।
प्रहरीका अनुसार प्रारम्भिक सूचनाअनुसार बेपत्ता भएका व्यक्ति पुरुष हुन्। घटनापछि सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले पनि खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन् । तीव्र बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij