Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय

हेटाैँडा : विभिन्न नयाँ कार्यक्रमका साथै परीक्षा प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थी र अभिभावकलाई आकर्षित गरिरहेको बागमती विश्वविद्यालयले यस वर्ष थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले यसै वर्षदेखि स्नातकतहमा कम्प्युटर इन्जिनियरिङ, बिएएलएलबी, बिएचएम र बिपिएम विषयका कक्षा सञ्चालन गर्न लागेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।

विश्वविद्यालयले अघिल्लो वर्षदेखि व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एण्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातकतहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल एक हप्ताभित्र प्रकाशित गरेको थियो ।

विभिन्न विषयमा स्नातकतहको कक्षा सञ्चालन गरिरहेकामा यस वर्षदेखि थप चार विषयमा स्नातक कक्षा सञ्चालन गर्न लागेको उनले बताए । “यस वर्ष स्नातकतहमा थप गरिएका विषयमध्ये बिएचएम हेटौँडा क्याम्पसमा, कम्प्युटर इन्जिनियरिङ कपन क्याम्पसमा, बिएएललबी जनमैत्री क्याम्पसमा र बिपिएम भुवानी शङ्कर क्याम्पसमा पढाउने गरी आवेदन माग गरिएको छ”, उनले भने ।

थप गरिएका विषयमध्ये बिएएलएलबीमा ५० र अन्य विषयमा ४०/४० जना विद्यार्थीको भर्ना लिइने अध्यक्ष प्राडा पौडलले जानकारी दिए । विश्वविद्यालयले हालसम्म विभिन्न विषयका १४ वटा पाठ्यक्रम तयार गरिसकेको र यस वर्षदेखि स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

संविधानतः उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरुप विसं २०८१ जेठ २५ गते उक्त विश्वविद्यालय स्थापना भएको थियो । विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौँ, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौँ रहेका छन् । विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसमा गरी हाल ५५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट