Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

खराब मौसमले एयर एम्बुलेन्स नपुग्दा गर्भवतीलाई पैदलमार्गबाट अस्पताल पठाइयो

खराब मौसमले एयर एम्बुलेन्स नपुग्दा गर्भवतीलाई पैदलमार्गबाट अस्पताल पठाइयो

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको कर्णाली खानीखोला गाउँपालिका–६ स्थित साल्धारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा सुत्केरी बेथाका कारण भर्ना भएकी सानीमाया लोप्चनलाई प्रतिकूल मौसमका कारण एयर एम्बुलेन्सबाट उद्धार गर्न नसकिएपछि पैदलमार्गबाटै अस्पतालतर्फ पठाइएको छ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार सानिमाया लोप्चन सुत्केरी बेथा लागेपछि शनिबार स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। स्वास्थ्यकर्मीको निरन्तर जाँचका क्रममा गर्भमा रहेको बच्चा उल्टो रहेको तथा सालनाल अगाडि निस्किने अवस्था देखिएकाले तत्काल शल्यक्रिया (सि–सेक्सन) आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

साल्धारा स्वास्थ्य चौकीले उनलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा तत्काल रेफर गर्दै हेली एम्बुलेन्स उपलब्ध गराइदिन सम्बन्धित निकायसमक्ष सिफारिस गरेको थियो। स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयले हिजोदेखि नै हेली एम्बुलेन्स परिचालनका लागि समन्वय र प्रयास जारी राखे पनि लगातारको खराब मौसमका कारण हेलिकप्टर उडाउन सम्भव नभएको जनाइएको छ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार हिजो अबेर सम्म खराब मौसमका कारण हेलिकप्टर उडाउन सम्भव नभएको र आज आइतबार बिहान पनि सुरुमाँ  काठमाडौंको र अहिले खानीखोलाको मौसम बिग्रिएकोले उद्दारमा समस्या भएको जानकारी दिए । हेली एम्बुलेन्सबाट उद्धार हुन नसकेपछि आमा र गर्भस्थ शिशुको ज्यान जोगाउन अन्ततः सानीमाया लोप्चनलाई पैदलमार्गबाट अस्पतालतर्फ लगिएको छ। पालिकाले मौसममा सुधार आउनेबित्तिकै आवश्यक उद्धार तथा उपचार व्यवस्थापनका लागि निरन्तर समन्वय भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट