काठमाडौं : कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ। योसँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा गत बिहीबार खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी अझै जारी राखेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचारक कक्षका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेको बताए। पहिचान खुल्नेमा यसअघि भीरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए।
सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ (सहचालक) रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ता दुवै दाजु भाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य सहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यतिबेला गहिरो शोकमा छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij