सुर्खेत : एक वर्षदेखि शिक्षक तथा कर्मचारीको पारिश्रमिक नदिएको भन्दै दैलेखको ठाटीकाँधका अधिकांश सामुदायिक विद्यालय बुधबार बन्द गरिएका छन् । ठाटीकाँध गाउँपालिकाले ९७ जना शिक्षक तथा कर्मचारीले आफूहरुलाई विगत एक वर्षदेखि पारिश्रमिक नदिएको बताएका छन् । पटक–पटक सम्झौता र सहमति गर्दा पनि पारिश्रमिक नदिइएपछि बुधबार पालिकाभरका ३९ वटा सामुदायि विद्यालय बन्द गरिएको गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका सचिव रविलाल देवकोटाले बताए ।
‘हामीले हिजो (मंगलबार) नै आन्दोलनको घोषणा गरिसकेको हो, सोही अनुसार आज सबै विद्यालय बन्द गरिएको हो,’ उनले भने । उनका अनुसार, गाउँपालिका आफैँले अनुदान कोटामा नियुक्त गरेका शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरूको पारिश्रमिक दिएको छैन । उनले आन्दोलनका कार्यक्रमअनुसार असार ५ गतेदेखि शिक्षा, युवा तथा खेलकुद शाखा, लेखा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम रहेको बताए ।
आफूहरुको मागका सम्बन्धमा गाउँपालिका अध्यक्ष रक्षबहादुर शाही सकारात्मक देखिए पनि कर्मचारी र वडाध्यक्षहरूले असहयोग गरिरहेको गुनासो गरे । गाउँपालिकाले एकातिर कार्यरत शिक्षकलाई तलब दिएको छैन भने अर्कोतिर सोही प्रकृतिका नयाँ शिक्षकहरू नियुक्त गरिरहेको उनको भनाइ छ । स्कुल बन्द गरिएपछि विद्यालय पुगेका विद्यार्थीहरु घर फर्किएको मालिका मावि ठिमुरेका प्रधानाध्यापक महेन्द्रबहादुर शाहीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij