Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भारतीय ट्रकको सहज प्रवेशले नेपाली ढुवानी व्यवसायी संकटमा

भारतीय ट्रकको सहज प्रवेशले नेपाली ढुवानी व्यवसायी संकटमा

बुटवल : भारतीय मालबाहक ट्रकहरू सहज रूपमा नेपाल प्रवेश गर्दा नेपाली ढुवानी व्यवसायी समस्यामा परेको गुनासो गरेका छन् ।

व्यवसायीहरूका अनुसार भारतीय ट्रकहरूले प्रायः ओभरलोड सामान बोकेर नेपाल प्रवेश गर्ने गरेका छन् । एउटै यात्रामा ठूलो परिमाणमा सामान ढुवानी गर्न सक्ने हुँदा नेपाली ट्रकहरू प्रतिस्पर्धामा कमजोर बन्दै गएको उनीहरू बताउँछन् । पश्चिमाञ्चल यातायात व्यवसायीका पूर्व सचिव एवं १४औँ अधिवेशनका अध्यक्ष उम्मेदवार पंकज राईले भारतीय ट्रकलाई दिइने ७२ घण्टे रुट परमिट नियम पुनरावलोकन गर्नुपर्ने बताएका छन् । यही हप्ता हुने समितिको अधिवेशनका क्रममा ट्रक व्यवसायीका समस्या बुझ्न विभिन्न ठाउँमा जाँदा यस्तो समस्या भेटिएको उनले बताए ।

उनका अनुसार हाल भारतीय ट्रकहरूलाई एकपटक प्रवेश गर्दा ७२ घण्टासम्म सञ्चालन अनुमति दिइँदा उनीहरूले सिधै गन्तव्यसम्म सामान पुर्‍याउने गरेका छन्, जसले नेपाली ट्रकहरूलाई कामबाट वञ्चित बनाइरहेको छ । राईले ७२ घण्टे परमिट घटाएर २४ घण्टामा सीमित गर्नुपर्ने माग राख्दै त्यसो गरिए भारतीय ट्रकहरू सीमासम्म मात्र आउने र त्यसपछि नेपाली ट्रकहरूले ढुवानीको अवसर पाउने बताए । उनले भारतीय ट्रकहरूको उच्च वहन क्षमता र भारतमा इन्धन सस्तो हुनुका कारण पनि नेपाली व्यवसायी प्रतिस्पर्धामा टिक्न कठिन भइरहेको उल्लेख गरे ।

त्यस्तै, कतिपय भारतीय ट्रकहरूले जरिवाना तिरेर पनि ओभरलोड सामान बोकेर हिँड्ने प्रवृत्ति कायम रहेको बताइएको छ । ओभरलोडका कारण सडक तथा पुलहरूमा समेत क्षति पुगेको उदाहरण रहेको भन्दै व्यवसायीहरूले दुम्कीबास पुल भाँचिएको घटनालाई पनि यसैसँग जोडेर हेरेका छन् ।भारतीय ट्रकहरूले सिधै अन्तिम गन्तव्यसम्म सामान पुर्‍याउने प्रवृत्ति बढ्दै जाँदा नेपालभित्रको आन्तरिक ढुवानी काम घट्दै गएको र यसले दीर्घकालीन रूपमा नेपाली व्यवसायी पलायन हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी समेत दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij