काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको धरपकडप्रति कडा आपत्ति जनाएको छ। संगठनले यस कदमलाई राजनीतिक पूर्वाग्रह र कानुनी राज्यको उपहासको संज्ञा दिएको छ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीद्वारा जारी विज्ञप्तिमा सरकार गठन भएको २४ घण्टा पनि नबित्दै पूर्वाग्रही ढंगले शीर्ष नेताहरूमाथि धरपकड गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, 'कानुनी रूपमा पुष्टि हुन नसक्ने अमूर्त व्याख्याका आधारमा गरिएको यस प्रकारको हर्कतले विधिशास्त्रका न्यूनतम मान्यता तथा कानुनी राज्यको उपहास गरेको छ।'
नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेताहरूमाथि सरकारले गरेको व्यवहार घोर भर्त्सनायोग्य रहेको संगठनको ठहर छ। अनेरास्ववियुले वर्तमान सरकारको नियतमाथि समेत प्रश्न उठाएको छ।
अनेरास्ववियुले सरकार र सम्बन्धित निकाय समक्ष पक्राउ परेका नेताहरूको अविलम्ब रिहाइको माग गरेको छ। साथै, यस कार्यको सशक्त प्रतिकार गर्न देशैभरका आफ्ना मातहतका कमिटीहरूलाई निर्देशन समेत दिएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij