सर्लाही : सर्लाही जिल्लाका विभिन्न नेपाल–भारत सीमावर्ती नाकाहरू हुँदै अवैध तस्करीका गतिविधि बढ्दो क्रममा देखिएको छ । पछिल्लो समय विदेशी तथा भारतीय सामानहरू ठूलो परिमाणमा चोर बाटो प्रयोग गरी ओसारपसार भइरहेको छ।
जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक रूपमा लाखौं रुपैयाँ बराबरका सामान नेपाल–भारतबीच तस्करी हुने गरेको जनाइएको छ । सीमाक्षेत्रका बासिन्दाका अनुसार राति तथा बिहानको समयमा बढी मात्रामा तस्करी हुने गरेको छ ।
यसैबिच भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५१औँ बटालियनले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ । एसएसबीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३ हजार ५१५ केजी चाइनिज स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij