Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बनाइँदै सेतो मच्छेन्द्रनाथको रथ

बनाइँदै सेतो मच्छेन्द्रनाथको रथ

काठमाडौँ : दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दसैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ।

चैत्र शुक्ल प्रतिपदादेखि रथ बनाउन सुरु गरिएको गुठी संस्थानले जनाएको छ। चैत्र शुक्ल सप्तमी अर्थात् ११ चैतमा रथ बनाइसकिने संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए। यही १२ चैतको दिउँसो ४ बजेदेखि तीनधारा पाठशालाबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुनेछ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दशमीसम्म राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिन्छ।

यस वर्ष पहिलो दिन १२ चैतमा रथ असन पुर्‍याइनेछ। रथ असन पुगेपछि पूजा, आराधना गरिनेछ। सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने हुनेछ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर समापन हुनेछ। रथ निर्माणका लागि काठलगायत व्यवस्था संस्थानले गर्ने चलन छ।

चैत्र शुक्ल अष्टमीका दिन १२ चैतमा कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गर्ने परम्परा रहेको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्वअध्यक्षसमेत रहेका नीलकाजी शाक्यले जानकारी दिए।

राष्ट्रपतिले १२ चैतमा दर्शन गर्ने

असनमा यही १२ चैतको राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ। सेतो मच्छेन्द्रनाथको रथ तानेर असन लगेको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।
तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दसैँका दिनदेखि तान्ने गरिएको हो। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। रथ दोस्रो दिन अर्थात् १३ चैतमा असनबाट वसन्तपुरस्थित कालभैरवअगाडि लगिन्छ।

तेस्रो दिन १४ चैतमा वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ। लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ। राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा हुन्छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij