Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौँ :  “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो”, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् ।

जनकपुरधाम–जहाँ प्रत्येक गल्लीमा कथा छ, प्रत्येक मन्दिरमा स्मृति छ, प्रत्येक आँगनमा अरिपनको रेखा छ र प्रत्येक आवाजमा मैथिलीको मिठास छ । यही सहरमा विगत १० वर्षदेखि एउटा महोत्सव हुँदै आएको छ– जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव । हरेक दुई वर्षमा हुने यो महोत्सवको पाँचौँ शुङ्खला हालै (फागुन ५–८) सम्पन्न भएको छ । यसपटक पनि रङ्गमञ्चको उज्यालो, लोकगीतको लय र बहसको तापमा मैथिली सभ्यताको सांस्कृतिक पुनर्जागरणका स्वर गुञ्जिए ।यो महोत्सव मैथिली विकास कोषको आयोजनामा २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । पाँचौँ संस्करणसम्म आइपुग्दा यसले एउटा स्पष्ट सन्देश स्थापित गरेको छ– मैथिली राष्ट्रियताले केवल भावना खोजेको छैन; यसले सांस्कृतिक चेतनाको सुसङ्गठित पुनर्जागरण खोजेको छ ।

पछिल्लो समय यो महोत्सव मैथिली राष्ट्रियताको सांस्कृतिक पुनर्जागरणका लागि ऊर्जा भर्ने एक साझा मञ्चका रूपमा विकास हुँदै गएको छ । महोत्सवले जीवित सङ्ग्रहालय र चिन्तनको पाठशालाका रूपमा चिनिँदै आएको जनकपुरको सभ्यतालाई पुनर्ताजगी गर्न योगदान पुगिरहेको जानकाहरू बताउँछन् । यही सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कर्णले भनेका थिए, “साहित्य, कला र नाटक कुनै पनि समाजको सभ्यताका प्रमाण हुन् । यिनले मानव हृदयलाई जोड्ने पुलको काम गर्छन् । नाटकले समाजको यथार्थ बोल्छ, साहित्यले चेतना भर्छ र कलाले सभ्यतालाई रङ्गाउँछ । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवले मधेसको मौलिक संस्कृति, अनुभूति र पर्यटनको सम्भावनालाई विश्वसम्म पुर्याउन जुन योगदान गर्दै आएको छ, त्यो प्रशंसनीय छ ।”

उनको यो कथनले महोत्सवको सार र जनकपुरको सांस्कृतिक आयामलाई सटीक रूपमा समेट्छ । वास्तवमा, मिथिलाको सांस्कृतिक धरातलमा उभिएको जनकपुर नाट्य महोत्सव केवल साङ्गीतिक वा रङ्गमञ्चीय कार्यक्रम होइन; यो पहिचान, इतिहास र समकालीन चेतनाको समागम हो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट