Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाल टेलिकमका सेयरधनीलाई नगद लाभांश, आजैदेखि वितरण सुरु

नेपाल टेलिकमका सेयरधनीलाई नगद लाभांश, आजैदेखि वितरण सुरु

काठमाडौँ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारणसभाले पारित गरेको लाभांश रकम आजदेखि नै एनएमबि बैंकमार्फत सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ। सभामा करिब ९१.५६ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति थियो। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू पनि पारित गरेको छ।

कम्पनीकी अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले कम्पनीले कुल ३८ अर्ब १९ करोड आम्दानी गरी ६ अर्ब नाफा आर्जन गर्न सफल भएको जानकारी दिइन्। समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ। अर्यालले भविष्यमा मेगा परियोजना सञ्चालन गर्नुपर्ने र थप पुँजी आवश्यक पर्ने अवस्था आएमा बोनस सेयर पनि उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।

अध्यक्ष अर्यालले निकट भविष्यमै काठमाडौँलगायत ठुला सहरहरूबाट फाइभ जी सेवा सुरु गर्ने प्रक्रियामा रहेको बताइन्। २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा फोरजी सेवा विस्तार भएको र सबै जिल्लामा उच्च गतिको एफटीटीएच सेवा पुगेको जानकारी दिइयो। ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा कोशी, मधेस र बागमती प्रदेशका मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकाम जोड्ने गरी ८ हजार ८ सय ३४ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार भएको कम्पनीले जनाएको छ।

विश्वभर भ्वाइस सेवाको माग र राजस्वमा गिरावट आएको तथा ओटीटी सेवाले परम्परागत सेवालाई चुनौती दिएको भन्दै कम्पनीले डाटा सेवाको गुणस्तर सुधार गरी बजार हिस्सा बढाउने रणनीति लिएको छ। दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा सहयोग गर्ने र डिजिटल डिभाइड कम गर्नेतर्फ कार्यक्रमहरू केन्द्रित गरिएको अध्यक्ष अर्यालले बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij