Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको विशेष संयन्त्र निर्माणको तयारी भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले ठगीमा संलग्नहरूलाई कानुनी कठघरामा ल्याउन सीआईबी, अपराध महाशाखा र चेलीबेटी बेचबिखन विरुद्धका टोलीहरूलाई सक्रिय बनाउन लागिएको जानकारी दिए। सुशासनको सुरुवात गर्न वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्य गर्नु अनिवार्य रहेको उनको भनाइ छ।

कार्यक्रममा श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा तयार पारिएको ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२४’ सार्वजनिक गरिएको छ। मन्त्री भण्डारीले आप्रवासी जनशक्तिको सम्मान गर्दै उनीहरूको सीप र अनुभवलाई मुलुकको आत्मनिर्भरतामा जोड्न आवश्यक रहेको उल्लेख गरे। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आफू प्रतिबद्ध रहेको र यसका लागि दिनरात नभनी काम गरिरहेको स्पष्ट पारे।

आईएलओका देशीय निर्देशक नुमान ओज्कानले आप्रवासीहरूको सुरक्षा र हकहितका लागि अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिएका छन्। मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आप्रवासनलाई रोक्न सम्भव नभएकाले यसको सही व्यवस्थापनका लागि प्रभावकारी रणनीति बनाउनु पर्ने धारणा राखे। मन्त्रालयले यस वर्ष सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट