कञ्चनपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले महाकाली पुल र वरपरको बस्तीलाई बाढीको जोखिमबाट बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् ।
आगामी वर्षा शुरु हुनुअघि काम सम्पन्न नगरे बाढीले पुल र नदीको बायाँ किनारतर्फको बस्ती जोखिममा पर्न सक्ने मन्त्री घिसिङको चेतावनी छ ।
महाकाली पुल र नदीले कटान गरेको क्षेत्रको जानकारी लिन पुगेका मन्त्री घिसिङले सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई आवश्यक निर्देशन दिए। दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र सुख्खा बन्दरगाहको पहुँच सुनिश्चित गर्न चार लेनको पक्की पुल निर्माणको काम भइरहेको छ।
पुल सुरक्षा र बाढी न्यूनीकरणका लागि ६ जेठ २०८२ को मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाबाट अस्थायी संरचना निर्माण गरिएको थियो। वर्षाको जोखिमलाई मध्यनजर गर्दै पुल वरिपरि करिब तीन सय मिटरको अस्थायी संरचना सबलीकरण आवश्यक भएको छ।
मन्त्री घिसिङले सबलीकरणका लागि डिजाइन तयार भइसकेको र काम तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij