Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सुशासन र निर्वाचन सरकारको प्राथमिकता : प्रधानमन्त्री कार्की

सुशासन र निर्वाचन सरकारको प्राथमिकता : प्रधानमन्त्री कार्की

पाटन (ललितपुर) :  प्रधानमन्त्री सुशीला कार्कीले सरकार हाल सुशासन र निर्वाचनलाई दुई प्रमुख एजेन्डा बनाएर अघि बढिरहेको बताउनुभएको छ।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाहरूको आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिका बीच आगामी फागुन २१ गते तोकिएको समयभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकारले तीव्र तयारी गरिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा देशलाई अघि बढाउने एकमात्र उपाय निर्वाचन भएको स्पष्ट पार्नुभयो।

समाजमा अराजकता र आपराधिक गतिविधिलाई कुनै स्थान नदिइने बताउँदै प्रधानमन्त्री कार्कीले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकाय सक्षम र सक्रिय रहेको बताउनुभयो। साथै, समाजमा शान्ति कायम राख्न समुदायको भूमिका महत्त्वपूर्ण हुने भन्दै सबैलाई सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गर्नुभयो।

समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल बनाउन जेनजी समूहको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न कालखण्डमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको प्रयासकै कारण ललितपुर महानगरपालिका आजको अवस्थामा आइपुगेको बताउनुभयो।

कार्यक्रममा ललितपुर महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्था रातो बङ्गला स्कुल, निराराज्य लक्ष्मी राणासहित विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट