काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट अस्थायी रूपमा निलम्बन गरेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालका कार्यसमितिले सार्वजनिक पदमा रहँदा विवादमा संलग्न भएको र संस्था तथा पदाधिकारीहरूमाथि सार्वजनिक प्रश्न उठेपछि यो निर्णय गरिएको बताएको छ।
संस्थाका एक कार्यसमितिका सदस्यले भने, “हाम्रो संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास छन्। कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं। त्यसैले हामीले अस्थायी रूपमा उहाँका बारेमा यस्तो निर्णय लिएका हौं।”
उनका अनुसार विवाद सुरु भएदेखि नै सविता भण्डारीलाई राजीनामा दिन सुझाव दिइएको थियो, तर उनले अस्वीकार गरेकी थिइन्।
टीआई नेपाल विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्ध वकालत गर्ने संस्था हो। सविता भण्डारी बराल यसअघि संस्थामा साधारण सदस्य र पटक-पटक कार्यसमितिमा निर्वाचित पनि भइसकेकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij