भक्तपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने छ।
महाधिवेशनमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिने छ। उद्घाटनअघि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ, जसमा उपत्यकाको कला, संस्कृति र सामाजिक सभ्यताको झल्को प्रस्तुत गरिने एमालेले जनाएको छ। उद्घाटन समारोहमा करिब तीन लाख जनसहभागिता रहने पार्टीको दाबी छ।
सवारी व्यवस्थापनका लागि काठमाडौँतर्फबाट आउने गाडी गट्ठाघर र पूर्वी नाकाबाट आउने सवारी जगाती क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ। उद्घाटन समारोहपछि भोलिपल्टदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने छ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन्।
यसैबीच, एमाले सचिवालय बैठकले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। नेतृत्व चयन विधान अधिवेशनबाट पारित संरचनाअनुसार हुने छ र मतदान विद्युतीय प्रणालीबाट गर्ने तयारी गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij