काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ। प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको संवाद कार्यक्रममा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राख्नुभयो।
उपाध्यक्ष पौडेलले सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हितमा योगदान गर्ने कुरामा ध्यान केन्द्रित भएको स्पष्ट गर्नुभयो। उहाँले पार्टीको नेतृत्व चयन प्रक्रिया र महाधिवेशनको तयारीप्रति आशावादी दृष्टिकोण राख्दै भने, “हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ। एमाले भित्र देखिएको आन्तरिक ध्रुव मङ्सिर २९ अघि समाप्त हुनेछ, त्यसपछि कुनै विवाद रहँदैन।”
उहाँले एमालेको वर्तमान राजनीतिक भूमिका र रणनीतिबारे पनि बोलेका छन्। उपाध्यक्ष पौडेलले पार्टी संसद् पुनःस्थापना, जेनजाइका मागसहित संविधान संशोधन र सर्वपक्षीय सरकारको माध्यमबाट आगामी निर्वाचनमा जाने तयारीमा रहेको बताए। उहाँका अनुसार, एमाले वडा र टोलसम्म फैलिएको पार्टी भएकाले निर्वाचनबाट नफुट्ने र वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनमा ध्यान दिनुपर्नेछ।
पौडेलले आन्तरिक पार्टी जीवनमा कुनै गम्भीर समस्या नभएको बताउँदै, पार्टी एकतामा अघि बढ्ने दिशामा रहेको स्पष्ट गर्नुभयो। उहाँले भने, “हामीलाई पार्टीको हित र देशको भविष्य प्राथमिकता हो। नेतृत्व पदमा रहनु वा नरहनु मेरो चासो होइन, महत्वपूर्ण कुरा पार्टी र देशका लागि कसरी योगदान गर्ने हो।”
संवाद कार्यक्रममा उपाध्यक्ष पौडेलले एमालेको स्थिरता र अनुशासन कायम राख्ने पक्षमा रहेको समेत बताए। उहाँले विश्वास व्यक्त गर्नुभयो कि महाधिवेशनमार्फत सहमति र संवादको माध्यमबाट पार्टीले आन्तरिक मतभेदहरूलाई समाधान गर्दै आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम हुने छ।
एमालेका नेताहरूले पार्टी एकतामा केन्द्रित रहँदा राष्ट्रिय राजनीतिक परिदृश्यमा पनि सकारात्मक संकेत देखिएको छ। यसले पार्टीको आगामी निर्वाचन तयारी, रणनीति निर्माण र देशको स्थिरतामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij