Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

निर्वाचन विवादमा बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुको कारबाही

निर्वाचन विवादमा बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुको कारबाही

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका नेता तथा पूर्व प्रदेशमन्त्री बलबहादुर साम्सोहाङ र नेता मणिशंकर पोमुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ। महाधिवेशन प्रतिनिधि छनोटको क्रममा निर्वाचन अधिकृतमाथि हातपात गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो।

तर, निलम्बित नेता बलबहादुर साम्सोहाङले यो कारबाहीलाई 'ओली प्रवृत्तिको विरोध' गरेको नतिजा भएको बताएका छन्। उनले नेतृत्वको गुटबन्दी र विधि उल्लङ्घनको विषयमा आवाज उठाउँदा प्रतिशोधको सामना गर्नु परेको दाबी गरेका छन्।

साम्सोहाङले भने, “एमालेभित्रको आन्तरिक विवाद, विशेषगरी ताप्लेजुङ जिल्ला नेतृत्वको एकलौटी निर्णय र अधिवेशनमा अनियमितताले यो स्थिति ल्यायो। निर्वाचन संयोजकसँगको असहमति र प्रतिवादको क्रममा झडप भयो, जसलाई लिएर कारबाही गरिएको हो।”

उनले पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीमा सुधार र नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताएका छन्। साम्सोहाङले भने, “पार्टी सत्तामा हुँदा भएका घटनाको जिम्मेवारी नेतृत्वले लिनुपर्छ। संकट निम्त्याउने शैलीको नेतृत्वले पार्टीलाई क्षति पुर्‍याउँछ।”

साम्सोहाङले स्पष्ट पारे, “हामी एमाले छोड्दैनौं। ३० वर्षको राजनीति र संगठन निर्माणमा लगानी गरेका हौँ। कारबाहीले हाम्रो प्रतिबद्धता कमजोर पार्दैन, हामी पार्टीभित्र संघर्ष जारी राख्नेछौं।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट