Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मेन रोड विस्तार रोक्न खोजिने प्रयासपछि जेनजी अगुवाको कडा चेतावनी

मेन रोड विस्तार रोक्न खोजिने प्रयासपछि जेनजी अगुवाको कडा चेतावनी

काठमाडौँ : लामो समयदेखि रोकिएको बागमती प्रदेशको राजधानी हेटौँडामा सडक विस्तार कार्य पुनः विवादमा परेपछि जेनजी अगुवाहरूले पनि चासो देखाएका छन्। मेन रोडका घरधनी र व्यवसायीले सडक विस्तारको विरोध गरेपछि जेनजी नेता सुदन गुरुङले सर्वोच्च अदालतको आदेशअनुसार सुरु भएको काममा अवरोध नगर्न आग्रह गरेका हुन्।

गुरुङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “लामो समयदेखि विभिन्न तत्त्वहरूले अवरोध गर्दा हेटौँडाको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको विस्तार काम अघि बढ्न सकेको थिएन। तर २०८० पुस १७ गतेको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन दिएको छ।”

उनका अनुसार विगतमा राजनीतिक दबाब, शक्ति केन्द्रको असर र स्थानीय अवरोधका कारण विस्तार कार्य पटक–पटक रोकिँदै आएको थियो। तर यसपटक कानुनी प्रक्रियाअनुसार अघि बढेको भएकाले सीमित व्यक्तिको दबाबमा नपरी परियोजनालाई सफल बनाउन सबै हेटौँडा नगरवासीको सहकार्य आवश्यक रहेको उनले अपिल गरेका छन्।

गुरुङले आफू, प्रादेशिक प्रमुख तथा जेनजी टिम परियोजनाको सफलताका लागि प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको जानकारी पनि दिएका छन्।

हेटौँडा सडक विस्तार विवाद के हो?

रातोमाटेदेखि चौकीटोलसम्मको मुख्य बजार क्षेत्रमा सडक दायाँ–बायाँ २५/२५ गज विस्तार गर्ने योजना साढे दुई दशकदेखि रोकिएको छ। स्थानीय घरधनी तथा व्यवसायीले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै निरन्तर अवरोध गर्दै आएका थिए।

२०८० पुस १७ मा सर्वोच्च अदालतले सडक विस्तारविरुद्ध दायर रिट खारेज गर्दै अतिक्रमित संरचना हटाई राजमार्ग फराकिलो बनाउन स्पष्ट आदेश दिएपछि काम अघि बढ्ने बाटो खुलेको हो।

आदेशपछि सडक डिभिजन कार्यालय हेटौँडाले ३५ दिने सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको छ। प्रशासनले पनि यो पटक कुनै बहानामा योजना रोकिँदैन भन्ने संकेत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट