काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख कार्यालयलाई मंगलबार बिहान सवा ११ बजे नै सर्वोच्चले परमादेशसहितको पत्र पठाएको थियो। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै प्रतिपक्षी दलले शीघ्र प्रदेश सभाको बैठक बोलाउन माग गरेका थिए।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने परमादेशमा उल्लेख छ। विश्वासको मत प्राप्त गर्न नसके उपधारा २ बमोजिम सरकार गठनको बाटो परमादेशले खुला गरिदिएको छ।
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसलगायत सात दलका ७४ जना प्रदेश सभा सदस्यले रिट निवेदन दर्ता गराएको २० दिनपछि सर्वोच्च अदालतले परमादेश जारी गरेको हो।
सर्वोच्चको परमादेश र प्रतिपक्षीको माग अनुसार प्रदेश सभाको बैठक बोलाउन मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसेको थियो।
मंगलबार साँझ पत्रकार सम्मलेन गरी मुख्यमन्त्री यादवले मन्त्रिपरिषद्को विभिन्न निर्णय सार्वजनिक गर्दै विश्वासको मत लिने बारे जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij