Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

आज मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने

आज मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संसद फेस गर्ने भएका छन्। मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा हिजो निर्णय सुनाउँदै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो। विश्वासको मत पाउन नसके संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रकृया सुरु गर्न आदेशमा भनिएको थियो।

मुख्यमन्त्री यादवले आदेश प्राप्त भएको र अरु दलहरुसँग पनि छलफल जारी रहेकाले विश्वासको मत लिने जानकारी दिए। अहिलेकै अवस्थामा मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था छैन।

यद्यपि विपक्षी दलहरुसँग संवादको सकारात्मक वातावरण बनिरहेकाले अन्तिम समयसम्म प्रयत्न गर्ने  संसदको बैठक बोलाउन पनि आग्रह गर्ने यादवको भनाइ छ।

एमालेका प्रमुख समेतक हरिनारायण महतोले भने विश्वासको मत पाउने वातावरण नरहेकाले यादवलाई राजीनामा दिन सुझाव दिएका छन्। अहिलेसम्म पार्टीमा कुनै छलफल समेत नभएको महतोले बताए। उपसभामुख बबिता कुमारी राउत ईशरले विश्वासको मत लिने सूचना आइनसकेको र आफू पनि दलका प्रमुख सचेतकहरुसँग छलफलमा रहेको बताइन्।

विपक्षी गठबन्धनका कुनै दल एमालेसँग अप्रत्यासित रुपमा मिल्न आएको अवस्था बाहेक मुख्यमन्त्री यादव पदमुक्त हुने निश्चित छ।

विपक्षी गठबन्धनसँग ७४ सांसद रहँदा यादवसँग एमालेका २४ सहित २६ मत मात्रै छ । विश्वासको मत पाउन ५३ मत चाहिन्छ। मधेशमा एकपछि अर्को असंवैधानिक कदमका कारण एमालेलाई क्षति भइरहेको छ।

प्रदेश प्रमुखबाट एमाले निकट सुमित्रा सुवेदी भण्डारी र सभामुख रामन्द्र मण्डल पदमुक्त भइसकेका छन्। सरकार गठनको आह्वानसमेत नगरी संविधानको धारा १६८(३) अनुसार यादवलाई कात्तिक २३ मा रातारात मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी सांसद अदालत पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट