Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रास्वपा र विवेकशील साझाबीच आज राष्ट्रिय सभागृहमा एकता घोषणा, वैकल्पिक राजनीतिक स्वरूपलाई सुदृढ गर्ने तयारी

रास्वपा र विवेकशील साझाबीच आज राष्ट्रिय सभागृहमा एकता घोषणा, वैकल्पिक राजनीतिक स्वरूपलाई सुदृढ गर्ने तयारी

काठमाडौँ : वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज औपचारिक रूपमा एकीकरण हुँदैछ । लोकतान्त्रिक चरित्र र वैकल्पिक राजनीतिक मूल्य–मान्यतामा आधारित एक्यबद्ध ध्रुवीकरणको लक्ष्यसहित दुवै दल आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।

१३ वर्षअघि उज्ज्वल थापाको नेतृत्वमा अभियानबाट सुरु भएर दलको रूप लिएको विवेकशील साझा पार्टी र ४० महिना अघि गठन भएको रास्वपाबीच लामो संवाद र पाँच चरणको वार्तापछि एकताको टुंगो लागिएको हो ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा रहेकाले पार्टीको जिम्मेवारी हाल कार्यवाहक सभापति डीपी अर्यालले सम्हालेका छन् । विवेकशील साझाबाट अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन् । पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहने निर्णयलाई विवेकशील साझाले नि:शर्त स्वीकार गरेको छ ।

एकता घोषणा सभामा दुवै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सोही समारोहमा विवेकशील साझा पार्टीले आफ्नो विपत् कोषमा रहेको ३३ लाख रुपैयाँ रास्वपालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।

एकताको पृष्ठभूमि

दुवै दलबीच वैचारिक समायोजन, वैकल्पिक राजनीति निर्माणको साझा लक्ष्य र नेताहरूका व्यक्तिगत नजिकताले एकता सम्भव भएको नेताहरू बताउँछन् । रास्वपाका संवाद संयोजक डा. स्वर्णिम वाग्ले र विवेकशील अभियानका संस्थापक दिवंगत उज्ज्वल थापाबीच बूढानीलकण्ठ स्कुलदेखि अमेरिकासम्मको घनिष्ठ सम्बन्धले एकता सम्भावनाको जग बिछ्याएको बताइन्छ ।

विवेकशील साझाबाट प्रकाशचन्द्र परियार र रास्वपाबाट डा. स्वर्णिम वाग्ले नेतृत्वमा बनेको उच्चस्तरीय संवाद समितिले पाँच चरणको गहन वार्तामार्फत सहमति जुटाएको हो । विवेकशील साझाको केन्द्रीय समितिबाट पनि उक्त निर्णय सर्वसम्मत समर्थनसहित पारित गरिएको थियो ।

नेताहरूका भनाइ र असन्तुष्टि

उपाध्यक्ष परियारका अनुसार एकता पद र संख्याको आधारमा नभई वैकल्पिक मूल्य–मान्यताको सिद्धान्तमा आधारित छ । ‘हामी दुई एक होइन, एक हुन चाहन्छौं,’ उनले भने ।

तर विवेकशील साझाका पूर्व सांसद रमेश पौडेल र नेता आशुतोष तिवारीलगायत केही नेताहरू एकता–विरोधी छन् । उनीहरूको असन्तुष्टिप्रति पार्टी नेतृत्वले उनीहरू धेरै समयदेखि सक्रिय नभएको जवाफ दिएको छ ।

मूल्य र सम्झदारी

उज्ज्वल थापाको स्मृतिमा जेठ १८ लाई वार्षिक स्मृति दिवसका रूपमा मनाइने सहमति भएको छ । ‘उज्ज्वल थापा अब वैकल्पिक राजनीतिका सर्वमान्य संस्थापकका रूपमा स्थापित हुनेछन्,’ परियारले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट