Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमालेको ११ औँ महाधिवेशन : होटलको कोठाबाट प्रतिनिधि छानिएको आरोप

एमालेको ११ औँ महाधिवेशन : होटलको कोठाबाट प्रतिनिधि छानिएको आरोप

सुर्खेत :  नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहको गृह जिल्ला सल्यानमा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ ।एमाले जिल्ला अधिवेशनदेखिनै चुलिएको विवाद अहिले प्रतिनिधि छनोटमा आएर पनि थप उत्कर्षमा पुगेको हो ।

एमाले महासचिव शंकर पोखरेलका विश्वास पात्र मानिएका गुलाबजंग शाहले गृह जिल्ला सल्यानमा आफू निकट व्यक्तिहरूलाई मात्रै अगाडी सार्ने गरेका छन् ।उनले यसअघि जिल्लाको अधिवेशनमा आफू निकट भीमबहादुर सेनको समूहलाई जिताएका थिए ।अहिले त्यही समूहले जिल्ला अधिवेशनमा आफू विरुद्ध लडेकाहरूलाई प्रतिनिधि छनोटको छलफलमै समावेश नगरेको आरोप लागेको छ ।

विधि र प्रक्रिया मिचेर होटलको बन्द कोठाबाट एकलौटी ढङ्गले प्रतिनिधि छनोट गरिएको भन्दै असन्तुष्ट पक्षले कडा विरोध जनाएको हो ।केन्द्रीय सङ्गठन विभागले ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न स्पष्ट पाँच बुँदे निर्देशन दिएको थियो । तर, सल्यानमा भने कुनै सूचना, भेला वा बैठक नै नगरी शाहनिकट समूहले गुपचुप रूपमा प्रतिनिधि चयन गरेको आरोप लागेको छ ।

असन्तुष्ट पक्षका अनुसार जिल्ला अधिवेशनमा शाह पक्षका भिमबहादुर सेनविरुद्ध चुनाव लडेका नेता–कार्यकर्तालाई प्रतिनिधि छनोटमा पूर्ण रूपमा निषेध गरिएको छ ।

संस्थापन पक्षबाट खुल्लातर्फ भिमबहादुर सेन (अध्यक्ष), ओजबहादुर बुढाथोकी (उपाध्यक्ष), घनश्याम शर्मा र लालबहादुर रावत प्रतिनिधि छनोट भएका छन् । यस्तै, महिलातर्फ पुष्पाकुमारी बोहोरा (सचिव) र सनसिलता ओली (डिसी), ४० वर्षमुनिको तर्फबाट गणेशमान सिंह (उपसचिव) र दलिततर्फ भिउसेन नेपाली प्रतिनिधि छनोट भएका छन् ।

यी सबै जिल्लामा पार्टीको संस्थापन पक्षका हुन्, जसमा धेरैजसो वर्तमान पदाधिकारी टिमभित्रकै छन् । एमाले सल्यान जिल्ला सचिव पुष्पाकुमारी बोहोराले सर्वसम्मत तरिकाले नै प्रतिनिधि छनोट गरिएको दाबी गरिन् ।

तर, असन्तुष्ट पक्षले सदरमुकामको एक होटलको कोठामा बसेर शाह पक्षधरलाई मात्र समेट्ने गरी तयार पारिएको सूचीले चार हजार सङ्गठित सदस्यहरूको अधिकार कुण्ठित गरेको आरोप लगाएको छ ।असन्तुष्ट पक्षका नेता तथा एमाले सल्यानका सङ्गठित सदस्य घनश्याम पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वको कार्यशैलीलाई ‘सङ्गठन र कार्यकर्तामाथिको खुला हमला’ को संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट