विराटनगर । नवगठित नेपाली कम्युनिष्ट पार्टीले आउँदो १५ गते सोमबार विराटनगरमा एकता सन्देश सभा गर्ने भएको छ ।सो पार्टीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्याउने उद्देश्यले सभा गर्न लागिएको जनाएको हो ।
विराटनगरस्थित पुरानो गुद्रीको खुला मैदानमा सोमबार दिउँसो १२ बजेदेखि सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल र भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाकी नेतृ सरिता थापा खड्काले बताइन् ।नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेल सितलकुमारले सभामा कोशी प्रदेशभरबाट १० हजारभन्दा बढी जनसहभागिता रहने अपेक्षा रहेको बताए । सभा भाषण गर्ने थलो मात्र नभएर विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै नयाँ सिराबाट अघि बढ्ने प्रस्थान विन्दु रहेको उनले बताए ।
सभालाई व्यवस्थित बनाउन आर्थिक, प्रचार–प्रसार, स्वयंसेवक, मञ्च व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य र जनपरिचालन लगायतका उपसमितिहरू गठन गरेर काम अन्तिम चरणमा पुर्याइएको सो पार्टीले जनाएको छ ।२०८२ कात्तिक १९ गते १० राजनीतिक दलहरूबिच एकता भई गठन भएको यो पार्टीमा हाल १५ दल आबद्ध भइसकेका छन् ।
विशेषतः ‘जेनजी आन्दोलन’ पछि विकसित नयाँ परिस्थितिमा मुलुकलाई राजनीतिक निकास दिन र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउन यो सभा आयोजना गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij