काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद समाधान गर्न सक्रिय प्रयास थालेका छन्। देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर राखेका छन्।
उनलाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सकारात्मक हस्तक्षेप गर्न आग्रह गरेपछि देउवाले सक्रिय भूमिका लिएका हुन्। तर, संस्थापन पक्षका कतिपय नेताहरूले कार्यवाहक फिर्ता लिएर केन्द्रीय समिति बैठक सञ्चालन गर्न आग्रह भने स्वीकार गरेका छैनन्।
यसअघि देउवाले व्यक्तिगत भेटघाटमार्फत वार्ता गरेका थिए र अब महामन्त्रीसँग वार्ता गर्न नेता रमेश लेखकलाई खटाएका छन्। लेखकले पुस मसान्तभित्रको कार्यतालिका प्रस्तुत गरी विशेष महाधिवेशन पक्षधरलाई फर्काउन सकिने सुझाव दिएका थिए।
बिहीबार (मंसिर ११) लेखकले ‘ब्रिफिङ’ गरेपछि देउवाले साँझै महामन्त्रीद्वयसँग छलफल गरेका थिए। उक्त बैठकमा महामन्त्रीद्वयले विशेष महाधिवेशन रोक्न हाल अवस्था उपयुक्त नरहेको बताएका थिए।
त्यसपछि देउवाले शुक्रबार (मंसिर १२) कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापन पक्षका ‘सात भाइ’ र लेखकसहितका केही केन्द्रीय सदस्यलाई महाराजगन्जस्थित देउवा निवासमा बैठकमा बोलाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij