काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन सम्पन्न गरेपछि आजदेखि देशव्यापी पार्टी एकता सन्देशसभा सुरु गरेको छ।
प्रदेशस्तरीय एकता सन्देशसभा कार्यक्रमअनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सभा आयोजना गरिएको छ। पार्टीका नेता अग्निप्रसाद खरेलका अनुसार लुम्बिनी प्रदेशको दाङ–देउखुरीमा मंसिर १३, गण्डकी प्रदेशको पोखरामा मंसिर १४, कोसी प्रदेशको विराटनगरमा मंसिर १५, उपत्यका विशेष प्रदेश (काठमाडौं)मा मंसिर १७, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८, संघीय सम्पर्क समन्वय प्रदेश (काठमाडौं)मा मंसिर १९, मधेस प्रदेशको जनकपुरमा मंसिर २०, प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१, र वाग्मती प्रदेशको हेटौंडामा मंसिर २३ एकता सन्देशसभा आयोजना गरिने बताइएको छ।
मंसिर २६ सम्म प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लामा तथा मंसिर २९ मा देशभरका सम्पूर्ण स्थानीय पालिकामा एकता सन्देशसभा आयोजना हुने कार्यक्रम रहेको छ।
बिहीबार (हिजो) नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीको एकीकरण पक्षधर समूहबीच एकता घोषणा भएको थियो। यसअघि कात्तिक १९ गते नेकपा एकीकृत समाजवादीलगायत १० विभिन्न घटकबीच पनि एकता घोषणा गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij