Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पूर्वराष्ट्रपति भण्डारीले एमालेको ११औँ महाधिवेशनको सफलता लागि शुभकामना दिइन्

पूर्वराष्ट्रपति भण्डारीले एमालेको ११औँ महाधिवेशनको सफलता लागि शुभकामना दिइन्

काठमाडौँ  :  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेकी छन्। उनले पार्टीलाई अग्रगतितर्फ अघि बढाउन महाधिवेशन पूर्णरूपमा सफल हुने विश्वास व्यक्त गरेकी हुन्।

एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै लेखेकी छन्,

“नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यलाई हार्दिक शुभकामना। विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।”

एमालेको महाधिवेशन यही मंसिर अन्तिम साता काठमाडौं उपत्यकामा आयोजना हुँदैछ। उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने कार्यक्रम तय भएको छ। नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

भण्डारीले महाधिवेशनमा परिपक्व नेता–कार्यकर्ता, अनुशासित युवा पुस्ता र क्षेत्रीय सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुने विश्वास व्यक्त गरेकी छन्।

तर, भौतिक रूपमा महाधिवेशनमा सहभागी हुन नसकेको भण्डारीले स्पष्ट पारेकी छन् कि, राष्ट्रपति भइसकेको कारण पार्टीले उनको सदस्यता खारेज गरेको निर्णय अनुचित रहेको छ। उनले लेखेकी छन् कि आफ्नो पार्टी सदस्यता नवीकरण गरिएको छ र भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको रूपमा निरन्तर साथ रहनेछिन्।

भण्डारीले महाधिवेशनलाई पार्टीको नीति, नेतृत्व र सामाजिक–आर्थिक रूपान्तरणतर्फ मार्गदर्शन गर्ने ऐतिहासिक अवसर र आम जनताको लागि महत्त्वपूर्ण सरोकारको विषय भएको उल्लेख गर्दै एमालेको महाधिवेशनप्रति शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट