नेपालगन्ज : पश्चिम नेपालकै सुविधासम्पन्न सहर नेपालगन्ज नजिकै रहे पनि पाँच दशकदेखि विद्युत् सुविधाबाट वञ्चित डुडुवा गाउँपालिका–१ चौफेरीसहित वरपरका पाँच बस्तीमा पहिलोपटक बिजुली पुगेको छ। ५० वर्षपछिको यो परिवर्तनसँगै स्थानीयमा चाडपर्वसरह खुसी र उत्साह देखिएको छ।
सदरमुकामबाट मात्र १० किलोमिटर दूरीमा रहे पनि चौफेरी क्षेत्र वर्षौँसम्म उज्यालो, शिक्षा, स्वास्थ्य तथा सडकजस्ता आधारभूत सेवाबाट टाढा रह्यो। भारतको दशगजा, राप्ती नदी र डुडुवा खोलाबीच टापुजस्तै भूगोल भएकाले राज्यको पहुँच ढिलो पुगेको स्थानीयको गुनासो छ।
७० वर्षीय तिर्थराम यादवले बत्ती बालिएको क्षणलाई “जीवनभरको प्रतीक्षा पूरा भएको” भन्दै टुकीको धुवाँमा बितेको समय सम्झिए। “अब बत्ती आउँछ भन्ने आशा नै हराइसकेको थियो, आज आएपछि हर्षले धड्कनै बढ्यो,” उनले भने।
विद्युत् आएपछि गाउँ झलमल बनेको र रातिको सुरक्षा अनुभूति बढेको स्थानीय रमेश यादव बताउँछन्। “आपतकालमा के भइरहेको छ देख्न सकिने भयो, डर कम भयो,” उनले बताए।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले वर्षौँदेखिको समस्या समाधान हुन पाउँदा गर्व लागेको बताउँदै अब अन्य आवश्यक सेवा–सुविधा पनि छिट्टै विस्तार हुने विश्वास दिलाए। नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले पनि लामो प्रतिक्षापछि चौफेरीमा बिजुली पुर्याउन पाउँदा खुसी लागेको बताए।
स्थानीयका अनुसार यो केवल ‘बत्ती बालेको घटना’ मात्र होइन, गाउँमा विकास प्रवेशको संकेत हो। उनीहरूको साझा आशा छ— “अँध्यारो हट्यो, अब विकास आओस्।”