चितवन : दसैँ बिदाका कारण बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले चाडपर्वको अवधिमा पनि उपचार सेवालाई निरन्तरता दिने भएको छ। अस्पतालले कात्तिक १ गते आइतबार अष्टमीका दिन आधा दिन बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने र त्यसपछि चार दिन आकस्मिक कक्षबाट उपचार सेवा उपलब्ध गराउने भएको हो।
अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवका अनुसार कात्तिक १ गतेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ। कात्तिक २ गतेदेखि ५ गतेसम्म भने आकस्मिक कक्ष (इमर्जेन्सी) बाट विशेषज्ञ चिकित्सकसहित सबै प्रकारका उपचार सेवा प्रदान गरिनेछ।
“दसैँ बिदाको समयमा बिरामीलाई असहज नहोस् भनेर आकस्मिक कक्षबाट विशेषज्ञ चिकित्सकसहित उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेका छौँ,” निर्देशक देवले भन्नुभयो।
उहाँका अनुसार बिदाको अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरंग सेवा पनि नियमित सञ्चालन हुनेछन्। चाडपर्वका बेला हुन सक्ने दुर्घटना, हृदयाघात, खानपानका कारण हुने अपच तथा झाडापखालालगायत स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विशेषज्ञसहितको उपचार सेवा उपलब्ध गराउने तयारी गरिएको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले पनि दसैँ बिदामा बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन आकस्मिक कक्षको व्यवस्थापन थप चुस्त बनाइएको बताउनुभयो।
“आकस्मिक कक्षमा थप डेस्क राखेर ओपिडी सेवा लिनुपर्ने बिरामीलाई समेत सेवा दिने गरी तयारी गरेका छौँ,” उहाँले भन्नुभयो।
दसैँका समयमा सरकारी तथा निजी कार्यालयसँगै कतिपय स्वास्थ्य संस्थामा नियमित सेवा सीमित हुने भएकाले अचानक बिरामी परेका, स्वास्थ्य समस्या बढेका वा चिकित्सकीय परामर्श आवश्यक भएका व्यक्तिलाई उपचार लिन कठिनाइ हुन सक्ने सिइओ देवकोटाको भनाइ छ। यही अवस्थालाई मध्यनजर गर्दै अस्पतालले बिदाको समयमा पनि सहज र प्रभावकारी सेवा उपलब्ध गराउने योजना बनाएको उहाँले बताउनुभयो।
चाडपर्वका बेला यात्रा, खानपानमा हुने परिवर्तन, भीडभाड तथा दैनिक दिनचर्यामा आउने फेरबदलका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले उपचार सेवालाई व्यवस्थित बनाइएको अस्पतालले जनाएको छ। पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्न सक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै समयमा उत्पन्न हुन सक्ने भएकाले सेवा व्यवस्थापनमा विशेष ध्यान दिइएको देवकोटाले बताउनुभयो। अस्पतालले दसैँ बिदाको अवधिमा उपचारका लागि आउने बिरामीले लामो समय कुर्नुपर्ने अवस्था कम गर्ने र आवश्यक उपचार सहज रूपमा उपलब्ध गराउने गरी तयारी गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij