ताप्लेजुङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा दुर्गम तथा विकट क्षेत्रका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ–६ लेलेपका अम्जिलेसा, ग्याब्ला, फले र घुन्सा गाउँका अशक्त (अपाङ्ग), एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीले सो सेवा घरमै प्राप्त गरेका छन्।
गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार, लाभग्राहीलाई सहज सेवा दिन बैंकसँग समन्वय गरी घरटोलमै भत्ता वितरण गरिएको हो। यसरी प्रत्यक्ष वितरणले दुर्गम क्षेत्रमा रहेका लाभग्राहीलाई सेवा पहुँच नजिक ल्याउने र उनीहरूमा राहत महसुस गराउने उद्देश्य राखिएको छ।
गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र अन्य टोलीका सदस्यहरूले आइतबारदेखि घरघरमा पुगेर भत्ता वितरण सुरु गरेका थिए। गाउँ कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले बताए अनुसार, अपाङ्ग, ज्येष्ठ नागरिक र अन्य लाभग्राहीले घरमै भत्ता पाएपछि ठूलो राहत महसुस गरेका छन्।
लेलेपका दुर्गम क्षेत्रहरू भौगोलिक रूपमा कठिन भेगमा पर्दछन्। घुन्साको उचाई ३,४७५ मिटर र फलेको बस्ती ३,२३२ मिटर रहेको छ। सामान्य अवस्थामा घुन्सा र फलेदेखि गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक पुग्न करिब दुई दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ।
गाउँपालिकाले यस पहलमार्फत स्थानीय सरकारको सेवा नजिक पुर्याउने र विकट हिमाली क्षेत्रका नागरिकलाई सामाजिक सुरक्षा भत्ता पहुँचाउन विशेष ध्यान दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij