Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कांग्रेसभित्र विशेष महाधिवेशनको दबाब तीव्र, आज विशेष भेला

कांग्रेसभित्र विशेष महाधिवेशनको दबाब तीव्र, आज विशेष भेला

काठमाडौं  : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग थप बलियो बन्दै गएको छ। त्यसै मागलाई संस्थागत रूपमा अघि बढाउन विशेष महाधिवेशन समर्थक समूहले आज दिउँसो १ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला आह्वान गरेको छ।

यस भेलाले केन्द्रीय कार्यसमिति बैठकमाथि विशेष महाधिवेशनको मिति तोक्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। कांग्रेस केन्द्रीय समिति बैठक भने भोलि बिहीबार बस्ने तय भएको छ। विशेष महाधिवेशन मागसहित चलाइएको हस्ताक्षर अभियानमा संलग्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आजको भेलामा सहभागी हुने दाबी गरिएको छ।

असोज २८ देखि जारी केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावअघि गर्ने कि पछि भन्ने विषयमा तीव्र मतभेद देखिएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित महाधिवेशन वा आवश्यक परे विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। तर सभापति शेरबहादुर देउवा पक्ष भने चुनावअघि महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएको छ।

असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाइसकेका छन्।

नेता गुरुराज घिमिरेको समन्वयमा हुन लागेको आजको भेलामा महामन्त्रीद्वय थापा र शर्मा उपस्थित नहुने बुझिएको छ। कार्यक्रममा नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँलगायत नेताहरूले सम्बोधन गर्ने तयारी छ।

यसअघि मंगलबार विशेष महाधिवेशन समर्थकहरूले काठमाडौं उपत्यकाका नेता, बागमती प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रीय सभापति, साथै भ्रातृ–शुभेच्छुक संगठनका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट