काठमाडौँ : सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकासको अनुगमन, समन्वय र सहजीकरणका लागि समिति गठन गरेको छ। मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा यो समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारले संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा जलविद्युत्, पेट्रोलियम पाइपलाइन, पर्यापर्यटन, खानेपानी, बाटोघाटो, पुलपुलेसा, सिँचाइ, सञ्चार, सार्वजनिक यातायात, विद्युत् प्रसारण र स्वास्थ्यजस्ता आधारभूत सेवासँग सम्बन्धित पूर्वाधारका लागि वातावरणीय अध्ययन सहमति दिने निर्णय गरेको छ। यसका साथै राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने वा सट्टाभर्ना जग्गा लिने प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ।
बैठकले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको पूर्वस्वीकृति प्रदान गर्ने, वन तथा वातावरण मन्त्रालयअन्तर्गत ३७ अस्थायी दरबन्दी स्वीकृत गर्ने र २०८१ असार २४ अगावै वातावरणीय अध्ययन सहमति वा ऊर्जा खरिद सम्झौता भएका आयोजनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको कार्यक्रममा सचिव विश्वबाबु पुडासैनीलाई चीनको बेइजिङमा सहभागी हुन स्वीकृति दिइएको छ। राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीको अवकाश स्वीकृत गरिएको र नेपाल पानी जहाज कार्यालयका सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij