काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाट क्षमता भएको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार गरिएको छ।
आयोजनाको कुल लागत करिब १ अर्ब ७५ करोड अमेरिकी डलर (लगभग २ खर्ब १४ अर्ब रुपैयाँ) अनुमान गरिएको छ। यसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) जुटाइनेछ। स्वपुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनी र ४९ प्रतिशत साधारण सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ।
संस्थापक सेयरधनीमा प्रदेश सरकार, स्थानीय तह, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा प्राधिकरणका सहायक कम्पनीहरू रहनेछन्। साधारण सेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैरआवासीय नेपाली, आयोजना प्रभावित, कर्मचारी र आम सर्वसाधारणलाई अवसर दिइनेछ।
आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत करिब १ खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुनेछ। विश्व बैंकको लगानी अन्योलमा परेपछि सरकारले देशभित्रका बैंक, वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमार्फत आयोजना अगाडि बढाउने योजना बनाएको छ।
आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। निर्माणपूर्वका काम जारी छन्, जसमा विद्युत गृह र बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ। आयोजना अरू नदीमा ७० मिटर लामो स्टील आर्क पुल पनि निर्माण गर्दैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij