Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

थारु समुदायको परम्परागत लौठसारी पूजा सुरु

थारु समुदायको परम्परागत लौठसारी पूजा सुरु

दाङ  :  बालबालिका र महिलाको स्वास्थ्य तथा कल्याणको कामना गर्दै थारु समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा शुरू भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारु समुदायको सांस्कृतिक, धार्मिक र आध्यात्मिक विश्वाससंग गहिरो रूपमा जोडिएको मानिन्छ।

तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मटावाँ तथा देशबन्ध्या गुर्वा पूर्णबहादुर चौधरीका अनुसार कार्तिक–मंसिर र चैत–वैशाखमा लौठसारी पूजा गर्ने चलन छ। “थारु समुदायमा यो पूजा अनिवार्यजस्तै मानिन्छ,” उहाँले बताउनुभयो, “वर्षमा दुई पटक देशबन्ध्या वा घरगुर्वाले पूजा गरिदिन्छन्।” समुदायमा विश्वास छ कि लौठसारी पूजाले घरका बालबालिका तथा महिलालाई रोगव्याधिबाट जोगाउने, स्वास्थ्य राम्रो बनाउने र परिवारमा शान्ति–समृद्धि ल्याउने गर्दछ।

पछिल्ला वर्षमा गैरथारु परिवारले पनि लौठसारी पूजा गराउने क्रम बढेको गुर्वा चौधरीले बताए। “हाल म करिब ४५० घरमा पूजा गर्छु, तीमध्ये करिब सयवटा पहाडी समुदायका घर हुन्,” उहाँले जानकारी दिनुभयो। दाङ, बाँके, बर्दियाका विभिन्न ठाउँबाट उहाँलाई पूजा गर्न बोलाइन्छ। पूजाबापत निश्चित शुल्क नलिइने, मानिसहरूले स्वेच्छाले पाँच सयदेखि एक हजार रुपैयाँसम्म चढाउने गरेको उहाँले बताए। शिक्षण पेशा छाडेर पूर्ण रूपमा पूजापाठ र संस्कृतिको संरक्षणमा लागेका चौधरी ४२ वर्षदेखि गुरैपाटी गर्दै आएका छन्।

यस्तै, दंगीशरण–३ हेकुलीका गुर्वा खुशीराम चौधरी पनि हाल लौठसारी पूजामा अत्यन्त व्यस्त छन्। “अब उमेर बढेपछि ठूलै टाढा जान सक्दिन, तर कोही गाडी लिएर आए भने त्यहाँ पनि गइदिन्छु,” उनले बताए। करिब ३५–३६ वर्षयता निरन्तर गुरैपाटी गर्दै आएका उनले स्थानीय तथा छिमेकी गाउँहरूमा पुगेर पूजापाठ गराउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट