Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सभामुख घिमिरेले कोशी प्रदेशसभा आगजनी स्थल निरीक्षण, पुनर्निर्माण र सुरक्षामा जोड

सभामुख घिमिरेले कोशी प्रदेशसभा आगजनी स्थल निरीक्षण, पुनर्निर्माण र सुरक्षामा जोड

विराटनगर  :  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मंगलबार स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणपछि सभामुख घिमिरेले प्रदेशसभामा पुगेको क्षति गम्भीर र अपूरणीय भएको उल्लेख गर्दै पुनर्निर्माण तथा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।

कोशी प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टले आगजनीले सचिवालयको मुख्य भवनसहित महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएको जानकारी घिमिरेलाई दिए। पुनर्निर्माण तत्काल सम्भव नभएकाले प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको तरकारी बजारस्थित भवनमा सारिएको विवरण पनि प्रस्तुत गरियो। सभामुख घिमिरेले स्थानान्तरण गरिएको नयाँ कार्यस्थलको समेत निरीक्षण गरे।

यस अवसरमा सभामुख घिमिरेले संविधानले संसद विघटन तथा संसदबाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था नदिएको स्पष्ट पारे। वर्तमान राजनीतिक विवाद न्यायालयमा पुगेकाले त्यसले सही निरूपण गर्ने विश्वास व्यक्त गर्दै उनले भने, “संविधानसम्मत रूपमा संसद भङ्ग गर्ने ठाउँ छैन। न्याय ठीक रूपमा चल्दा संसद पुनर्स्थापना हुनेछ।”

संसद पुनर्स्थापनाको विषयमा आफूले एमालेकै भाषा बोल्यो भन्ने आलोचना सम्बन्धी प्रश्नमा सभामुख घिमिरेले सत्य बोल्दा कसैसँग विचार मिल्न गएमा आपत्ति नमान्न आग्रह गरे। उनका शब्दमा, “महत्त्वपूर्ण कुरा कसको भाषा हो भन्ने होइन, के सत्य हो भन्ने हो। सत्य कुरा बोल्दा त्यो कसैसँग मिल्न सक्छ, नमिल्न पनि सक्छ। मिल्यो भनेर आपत्ति जनाउनुपर्ने कुनै कारण छैन।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट