Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विशेष परिस्थितिमा बनेको सरकार सुरक्षा सामान्य बनाउन सफल : गृहमन्त्री अर्याल

विशेष परिस्थितिमा बनेको सरकार सुरक्षा सामान्य बनाउन सफल : गृहमन्त्री अर्याल

भैरहवा  :  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनपछि बनेको सरकारले चुनौतीपूर्ण परिस्थितिलाई पार गर्दै सुरक्षा अवस्था सामान्य बनाएको दाबी गरेका छन्।

गृहमन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ को उद्घाटन गर्दै मन्त्री अर्यालले हाल कायम भएको सामान्य सुरक्षा वातावरण सबै निकायको अथक प्रयास र मिहिनेतको परिणाम भएको बताए। उनले सरकारले सुशासन प्रवर्धनसहित आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रतिवद्ध रहेको उल्लेख गरे।

“चुनाव हुँदैन भन्ने अनेक बहाना सुनिन्छ; तर सरकार आफ्नो काम, तयारी र भूमिकाबाट यसको जवाफ दिइरहेको छ,” मन्त्री अर्यालले भने। उनले वर्तमान सरकार कुनै व्यक्तिको इच्छामा नभई विशेष परिस्थितिको आवश्यकता अनुसार बनेको उल्लेख गर्दै व्यक्तिगत लोभ–लालसा होइन, सुशासन र चुनाव सम्पन्न गर्ने लक्ष्यमा सरकार केन्द्रित रहेको स्पष्ट गरे।

[caption id="attachment_313006" align="alignnone" width="2560"]  मन्त्री अर्यालले युवाहरूले उठाएको प्रश्नपछि पनि सम्बन्धित निकायहरू सुधारमा नलागे अर्को दुर्घटना हुन सक्ने चेतावनी दिए। उनले लुम्बिनी प्रदेशको सुरक्षा चुनौती पहिचान, रणनीति निर्माण र निर्वाचन तयारीलाई यो गोष्ठीले थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।[/caption]

प्रदेश नीतिगत तयारीबारे बोल्दै उनले लुटिएका हतियार र फरार कैदीबन्दी नै मुख्य सुरक्षा चुनौती भएको बताए। विशेष अपरेसनमार्फत धेरै हतियार फिर्ता ल्याइसकिएको र ठूलो संख्यामा फरार कैदी पक्राउ परिरहेको जानकारी पनि दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकार पनि सक्रिय रहेको बताए। उनले २४ गतेको घटनामा बाहिरी हस्तक्षेप रहेको दाबी गर्दै हतियार फिर्ता र फरार अपराधी नसमाए चुनाव प्रभावित हुने सम्भावना रहेको उल्लेख गरे।

[caption id="attachment_313007" align="alignnone" width="2560"]  गोष्ठीमा सचिव रामेश्वर दंगाल, तिनै सुरक्षा निकायका प्रमुखहरू, प्रदेश प्रमुख सचिव, नेपाली सेनाका अधिकारी, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका पदाधिकारी, मन्त्रालयका कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। सहसचिव सुरेश पन्तीले शान्ति–सुरक्षा कायम गर्दै फागुन २१ गते हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु सबै राष्ट्रसेवक कर्मचारीहरूको दायित्व भएको बताए।[/caption]

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट