काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरकर्ता नेता समूहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। भेटमा उनीहरूले देशको लोकतन्त्र संकटमा रहेको भन्दै यस्तो अवस्थामा पार्टीले महाधिवेशनमार्फत नीति र नेतृत्वमा स्पष्टता ल्याउनुपर्ने माग राखेका थिए।
राष्ट्रपति पौडेलले भने पार्टीभित्रको विषयमा प्रवेश नगर्ने स्पष्ट गर्दै, “कांग्रेसमा नियमित महाधिवेशन गर्ने हो वा विशेष महाधिवेशनमा जाने हो भन्ने निर्णय तपाईंहरूले मिलेर गर्नुहोस्। लोकतन्त्र जोगाउन दलहरूबीच उच्चस्तरीय समझदारी आवश्यक छ,” भेटमा सहभागी कांग्रेस नेता देवराज चालिसेले उद्धृत गरे।
पौडेलले लामो समय कांग्रेसमा काम गरेको अनुभव भए तापनि हाल राष्ट्रको अभिभावकीय जिम्मेवारीमा रहेको भन्दै, पार्टी कुन प्रकारको महाधिवेशनमा जान उपयुक्त हुन्छ भन्ने सिधा सुझाव नदिने स्पष्ट पार्नुभयो।
राष्ट्रपतिले देशमा लोकतन्त्र संकटमा रहेको भन्दै दलहरूले यसको मर्म बुझेर आफूलाई सुदृढ बनाउनुपर्ने जोड दिनुभयो। उनले संविधान र लोकतन्त्रलाई सही मार्गमा राख्न निर्वाचन नै एकमात्र विकल्प भएको बताउँदै, सबै राजनीतिक दलहरूले निर्वाचन प्रक्रियामा सहयोग गर्न र भाग लिन नसकेको दललाई पनि सहभागी गराउन प्रेरित गर्नुपर्ने बताएका छन्।
चालिसेका अनुसार राष्ट्रपति पौडेलले, “अहिले लोकतन्त्र संकटमा छ। दशकौंको संघर्ष र बलिदानबाट प्राप्त संविधान अहिले संकटमा छ। देशलाई संविधानको ट्र्याकमा फर्काउन एकमात्र उपाय निर्वाचन हो। सबै दलले यसको वातावरण बनाउन सक्रिय भूमिका खेल्नु आवश्यक छ,” भन्नुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij