काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ अभियन्ताहरूलाई भेट्ने समय नदिई सिंहदरबारबाट बाहिरिएको घटनापछि अभियन्ताहरूबीच असन्तोष थप चुलिएको छ। सोमबार दिउँसो प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको जेनजी समूह प्रधानमन्त्री कार्यालयमा लामो समयसम्म प्रतीक्षा गरिरहे पनि उनीहरूलाई भेटवार्ताको अवसर नदिइएको अभियन्ताहरूले बताएका छन्।
जेनजी समूहका अनुसार उनीहरूले प्रधानमन्त्रीको सचिवालयसँग पटक–पटक समय मिलाउने प्रयास गरे पनि सफल हुन सकेन। प्रमुख स्वकीय सचिवले फोन ‘स्विच अफ’ अवस्थामा राखेको र पठाइएका म्यासेजहरूलाई समेत कुनै प्रतिक्रिया नदिएको उनीहरूको आरोप छ। प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकपछि कार्यालयबाट निस्किएर हिँडेपछि भेट नपाएका अभियन्ताहरू थप आक्रोशित बनेका छन्।
अभियन्ताहरूले प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति गरिएको आरोपसहित विरोध स्वरूप ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका थिए। भेट नपाएपछि उनीहरूले उक्त व्यवहारलाई गैरजिम्मेवार तथा जनचासोप्रति बेवास्ता गरिएको टिप्पणी गरेका छन्।
जेनजी समूहले यसअघि पनि पारदर्शिता, सुशासन र राजनीतिक हस्तक्षेपको अन्त्यका लागि आन्दोलन गर्दै आएको छ। सोमबारको घटनापछि आन्दोलन अझ कडा रूप लिने संकेत समूहका सदस्यहरूले दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij