टीकापुर : टीकापुरका विद्यालयहरूमा बालबालिकाले दैनिक रूपमा भोगिरहेको समस्याहरूले उनीहरूको पढाइ र दैनिकीमा प्रत्यक्ष असर पारेको पाइएको छ। विद्यालयमा शौचालयको अभाव, सफाइको कमी, खानेपानीको अपर्याप्तता र पर्याप्त आराम कक्षको अभाव जस्ता चुनौतीहरू बालबालिकाले गुनासो गरेका छन्।
टीकापुर नगरपालिकामा आयोजित कार्यक्रममा एक छात्राले भनिन्, “शौचालय कहिल्यै सफा हुँदैन, ढोकामा प्वाल छ, चुकुल छैन। केटाहरू छात्रा शौचालयमा पसेर जे पायो त्यही लेख्छन्। शिक्षकलाई समस्या बताउँदा पनि समाधान हुँदैन।”
नगरप्रमुख रामलाल डगौरा थारुका अनुसार विद्यालयका आवश्यकताहरू पूरा गर्न नगरपालिका तयार छ, तर यस्ता समस्याहरू विद्यालय प्रशासनले नै हेर्नु पर्ने बताइएको छ। शिक्षक र अभिभावकले बालबालिकाका गुनासोहरू प्रायः सामान्य रूपमा लिन्छन्, जसले गर्दा बालबालिकाको दैनिकीमा समस्या उत्पन्न भएको अभिभावकहरूले बताएका छन्।
बालबालिकाको सङ्ख्याअनुसार पर्याप्त खानेपानी धारा छैन भने सडकमा खाल्डो र हिलोले उनीहरूलाई असुविधामा पार्ने गरेको छात्रा रुपा चौधरीले बताइन्। शिक्षकहरू पनि समस्यासँग अवगत छन्। राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरका शिक्षक बुधनी चौधरीका अनुसार, शौचालयको अभाव र नल्काबाट पानी तान्दा बालुवा आउने गरेको छ। राष्ट्रिय मावि मनिकापुरकी शिक्षक यशोदा तिमिल्सिनाले स्यानिटरी प्याड विसर्जनको सुविधा नहुँदा छात्राहरूलाई असुविधा भोग्नुपरेको बताइन्।
सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. नाथुराम चौधरीका अनुसार, बालबालिकाको समस्या समयमै समाधान नगरेमा उनीहरूको दैनिकी विथोलिने, व्यवहारमा नकारात्मक प्रभाव पर्न सक्ने र हिंस्रक स्वभाव विकास हुन सक्ने सम्भावना रहन्छ। शिक्षक र प्रधानाध्यापकले विद्यालयमा आएको समस्या प्राथमिकतामा राखेर आवश्यक परे मनोपरामर्श दिनु आवश्यक छ।
टीकापुर नगरपालिकाका महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख सङ्गिता शाहले नगरपालिकामा लैङ्गिकमैत्री नीति बनिसकेको र अब विद्यालयमा पनि जेसी फोकल पर्सन राखेर लैङ्गिकमैत्री संरचना निर्माण गर्ने तयारी भइरहेको जानकारी दिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij