कास्की : मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्डमार्फत दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा आवतजावत गर्छन्।
पाँचथरबाट सुरु भएको राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाटसम्म पुग्छ। कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन सडक हाल स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय, पर्वतका इञ्जिनीयर किरण सुवेदीका अनुसार, यस खण्डको करिब ९० प्रतिशत काम पूरा भइसकेको छ। “हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएको छ र अब कालोपत्रको फिनिसिङ, रेलिङ, व्यारियर तथा रोड सेफ्टीका केही काम बाँकी छन्। अब जम्माजम्मी १० प्रतिशत काम मात्र बाँकी छ,” उनले बताए।
यस खण्डको ठेक्का विसं २०७९ साउन १४ गते मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा सम्पन्न गर्ने सम्झौतासहित सुरु भएको थियो। तर निर्माण कम्पनीको ढिलासुस्ती, साथै निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण जस्ता प्राविधिक समस्याले काममा ढिलाइ भएको थियो। तोकिएको समयभित्र काम नसकिँदा म्याद दुईपटक थपिएको थियो। हाल तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जिनीयर सुवेदीले बताए।
सडक निर्माणसँगै स्थानीयवासी उत्साहित देखिएका छन्। पोखरा सिमपानीका माधव पोखरेलले भने, “स्थानीयवासीले लामो समयदेखि भोगेको कठिनाइ हटेको छ, अब पश्चिम क्षेत्रतर्फको यात्रा सहज भएको छ।”
हरिचोक–याम्दी खण्डको निर्माण सम्पन्न भएपछि मात्र पश्चिम क्षेत्रमा नभएर धौलागिरिका चार जिल्ला र कास्कीका उत्तर–पश्चिम भेगका नागरिक समेत सहज सडक पूर्वाधारको लाभ लिन सक्षम हुनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij