म्याग्दी : म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा अवस्थित प्राकृतिक तथा धार्मिक महत्व बोकेको कालाञ्जर–हम्पालस्थित जलजला क्षेत्रमा ताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला र मोदी गाउँपालिका तथा कास्कीको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको व्यापक जलजला क्षेत्रमा पर्यटक आकर्षण बढाउन ताल निर्माणका सम्भावनाहरू खोजिने भएको हो ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार करिब ३,२०० मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण सो क्षेत्रलाई दीर्घकालीन धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अध्ययन थालिएको हो।
चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, पोखराले सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसैअनुसार कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा प्राविधिक कर्मचारीको टोलीले गत हप्तामा प्रस्तावित निर्माणस्थलको स्थलगत निरीक्षण गरेको छ । टोलीले भौगोलिक स्वरूप, वातावरणीय प्रभाव, जलस्रोतको उपलब्धता तथा दीर्घकालीन सम्भावनाको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताए ।
उनका अनुसार प्रारम्भिक अवलोकनमा ताल निर्माणका लागि क्षेत्र उपयुक्त देखिएको छ । जलस्रोत व्यवस्थापन, संरचनागत सुरक्षा र वातावरणीय संतुलनका विषयमा विस्तृत छलफल भइरहेको पनि उनले बताए ।
ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिक गन्तव्य मात्र नभई आन्तरिक तथा बाह्य पर्यटनका लागि आकर्षक मुख्य केन्द्र बन्न सक्ने आयोजनाका प्रमुख श्रेष्ठले बताए ।
हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भू–दृश्य अवलोकन गर्न सकिन्छ । हिन्दू धर्मग्रन्थहरू—अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहापुराण, पद्मपुराण, बृहन्नारदीय, लिङ्गपुराण, मत्स्यपुराण, महाभारत तथा श्रीमद्भागवतमा समेत हम्पाल र कालाञ्जरको प्रसङ्ग उल्लेख रहेको कालीगण्डकी क्षेत्र संस्कृतिका अध्येता प्रा. डा. जगन्नाथ रेग्मीले जानकारी दिए ।