म्याग्दी : तीन जिल्लाको सिमानामा पर्ने प्राकृतिक र धार्मिक पर्यटकीय स्थल कालाञ्जर–हम्पालको जलजला क्षेत्रमा पर्यटक आकर्षित गर्न ताल निर्माणको योजना सुरु गरिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजला क्षेत्रमा पर्यटन प्रवर्धनका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम शुरु भएको हो। अध्ययनका लागि यस आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार, तीन हजार दुई सय मिटर उचाइमा रहेको घाँसे मैदान र पहाडी भू-आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
परियोजना टोलीले प्रस्तावित ताल निर्माण स्थलको भूगोल, वातावरणीय असर, जलस्रोत उपलब्धता र दीर्घकालीन प्रभावको प्रत्यक्ष अध्ययन गरेको छ। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार, ताल निर्माणका लागि आवश्यक सुरक्षात्मक र व्यवस्थापन उपायसमेत विस्तृत छलफल गरिएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराका प्रमुख विदुरमान श्रेष्ठले बताएअनुसार, ताल निर्माण भएपछि कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिक स्थल मात्र नभई आन्तरिक तथा विदेशी पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्नेछ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल र म्याग्दी, पर्वत र बागलुङका रमणीय भू-भाग अवलोकन गर्न सकिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij