लमजुङ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा ४ हजार ५ सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी भूमीनारायण पौडेलका अनुसार मङ्सिर ५ गतेसम्म ४,५३१ जनाले नाम दर्ता गराएका छन्। यसमध्ये १,४५७ जनाले कार्यालयमा आएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने ३,०७४ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइन दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका प्रमुख यादवराज आचार्यका अनुसार कार्यालयमा आएर दर्ता गर्ने मतदातामध्ये ९०४ जना पुरुष र ५५३ जना महिला रहेका छन्। राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गर्नेहरुको लिङ्ग विवरण हाल प्रक्रियामा छ।
यो नाम दर्ता कात्तिक मसान्तसम्मका लागि तोकिएको समयलाई थप गरेर मङ्सिर ५ गतेसम्म लम्बाइएको थियो। नयाँ दर्ता हुने अधिकांश मतदाता युवा रहेको जनाइएको छ।
लमजुङमा हालसम्म कुल मतदाताको संख्या १,३३,७१७ रहेको छ, जसमा ६५,४१८ जना पुरुष र ६८,२९९ जना महिला रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij