काभ्रेपलाञ्चोक : पटकपटकको बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनःनिर्माण सुरु गरिएको छ। नेपालको पूर्वी र मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने यो राजमार्गको तीन मुख्य खण्ड चौकीडाँडा, मङ्गलटार र नार्के–गिम्दीबाट निर्माण कार्य थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जानकारी दिएको छ।
गत असोजको बाढी–पहिराले काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। अबको पुनःनिर्माणमा दुई लेनको सडक र पुलहरूको स्तरोन्नति गरिने योजना छ।
ठेक्का सम्झौताअन्तर्गत खानी–एवन–कमलजीत जेभी, लामा–नवकान्तिपुर जेभी र खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले क्रमशः ८.५ किलोमिटर, ११ किलोमिटर र ४.९ किलोमिटर सडक निर्माण गर्नेछन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)**ले बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणमा रु २ अर्ब ६३ करोड बराबरको अनुदान दिनेछ।
स्रोत अनुसार, क्षतिग्रस्त सडक पुनःनिर्माणमा कुल रु ८ अर्ब ५० करोड खर्च हुनेछ र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बीपी राजमार्ग काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण छोटो मार्गको रूपमा रहेको छ।