काठमाडौँ : कांग्रेसका संस्थापन पक्षीय २४ केन्द्रीय सदस्यहरूले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरी महाधिवेशनसम्बन्धी आफ्नो मागमा समर्थन माग गरेका छन्। भेट आइतबार बिहान डा. कोइरालाको सम्पर्क कार्यालय, विशालनगरमा भएको थियो।
संस्थापन पक्षीय सदस्यहरूले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए। उनीहरूको माग छ कि पार्टीको १५ औँ महाधिवेशन मंसिर मसान्तमा सुरु गरेर पुस मसान्तभित्र सकिनुपर्छ।
डा. कोइराला डा. मिनेन्द्र रिजाल, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार र अन्य केन्द्रीय सदस्यहरूसँग भेटमा नियमित महाधिवेशन समयमै सम्पन्न गर्न पहल गर्न अनुरोध गरिएको २४ सदस्यहरूले जानकारी दिए।
यस क्रममा डा. कोइरालाले शनिबारको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी निर्णय किन नगरेको आफूलाई जानकारी नभएको बताएका छन्। उनले भने, “नियमित महाधिवेशन पुस मसान्तसम्म सम्पन्न हुनुपर्छ भन्ने मेरो अडान यथावत् छ। आवश्यक निर्णय गर्न म लागिरहेको छु।”
डा. कोइरालाले महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन गर्दा पार्टी फुट्ने सम्भावना बढी हुने उल्लेख गरेका छन्। यदि विशेष महाधिवेशन गर्नैपर्ने भए, हस्ताक्षर भेरिफिकेसन नगरी केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत निर्णय गर्नुपर्ने उनको सुझाव छ।
२४ सदस्यहरूले अघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीसँग पनि आफ्नो माग राखिसकेका छन्।
कांग्रेसमा महाधिवेशन फागुन २१ प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विषयमा विवाद जारी छ। महामन्त्री गगन थापाले पुस १६–१९ मा, सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० मा महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। थापाको प्रस्ताव इतर समूहले र यादवको प्रस्ताव संस्थापनले समर्थन गरेपछि महाधिवेशनको मिति विवादित बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij