Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बाँकेमा १६ हजार ८ सयभन्दा बढी नयाँ मतदाता दर्ता

बाँकेमा १६ हजार ८ सयभन्दा बढी नयाँ मतदाता दर्ता

नेपालगन्ज  : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हालसम्म १६ हजार ८११ जनाले नाम दर्ता गराएका छन्। तीमध्ये ११ हजार ७११ जनाले कार्यालयमा उपस्थित भएर नाम दर्ता गराएका छन्, भने पाँच हजार १०० जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत नाम दर्ता गरेका छन्।

कार्यालयमा आएर नाम दर्ता गराउनेमध्ये पाँच हजार ८३७ पुरुष र पाँच हजार ८७४ महिला रहेका छन्। अनलाइनमार्फत दर्ता गराएकाको विवरणलाई भने लैंगिक आधारमा छुट्याउने कार्य जारी छ।

नाम दर्ता गराउने समय कात्तिक मसान्तबाट मङ्सिर ५ गतेसम्म थपिएको थियो। दर्ताको संख्या बढ्दो देखिएकाले अझै पनि केही मतदाताको नाम छुट्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख शाहीका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये धेरैजसो १८ देखि २५ वर्ष उमेर समूहका युवा छन्। २०७९ सालको निर्वाचनमा बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता रहेकोमा यसपटक युवा मतदाताको उल्लेख्य वृद्धि भएको कार्यालयले जनाएको छ।

नयाँ मतदाता दर्ता, त्रुटि सच्याउने, स्थानसारी गर्ने लगायतका तयारीसँगै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका युवाको सहभागिता विशेष रूपमा बढी रहेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट