नारायणगढ : सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै राप्ती नदीमा नयाँ नौका विहार (बोटिङ) रुट सञ्चालनमा ल्याइएको छ। निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्म पाँच किलोमिटर दूरीमा उक्त नयाँ रुट खोलिएको हो।
सौराहास्थित किनार रेष्टुरेन्ट एण्ड वारले चितवन राष्ट्रिय निकुञ्जले आह्वान गरेको ठेक्का लिएर नौका विहार सञ्चालन सुरु गरेको हो। रेष्टुरेन्टका सञ्चालक वासु ढुङ्गनाका अनुसार यो क्षेत्र प्राकृतिक रूपमा अत्यन्त आकर्षक छ, जहाँ एकातिर निकुञ्ज र अर्कातिर कुमरोज मध्यवर्ती सामुदायिक वनको घनघोर जंगल रहेको छ भने बीचमा बग्ने विशाल राप्ती नदीमा नौका विहारको अनुभूति ‘अतुलनीय’ हुने बताइन्छ। करिब एक घण्टा समय लाग्ने यो यात्रा सौराहाबाट करिब १० किलोमिटर पूर्व पर्छ।
यो स्थान पुग्न कुमरोज मध्यवर्ती वन पार गर्नुपर्ने भएकाले यात्रामा जंगल सफारीको अनुभव पनि थपिन्छ। यहाँ बाघ, गैँडा लगायतका वन्यजन्तु तथा विभिन्न जलचरको अवलोकन गर्न सकिने भएकाले अन्य स्थानको तुलनामा यो क्षेत्र थप रोचक र आकर्षक रहेको जनाइएको छ।
यस क्षेत्रमा मानव बस्ती सारेर खाली गरिएको ऐतिहासिक पदमपुर क्षेत्र पनि पर्छ। नौका विहारका क्रममा पदमपुर स्थानान्तरणको इतिहाससमेत पर्यटकलाई जानकारी गराइने संचालन पक्षले जनाएको छ। हाल यहाँ १० वटा डुङ्गा सञ्चालनमा छन्, जसले प्रत्येक लटमा सयजनासम्म पर्यटक बहन क्षमता राख्छन्। दैनिक दुई लटसम्म सञ्चालन गरिने व्यवस्था गरिएको छ।
सौराहामा वार्षिक करिब दुई लाख पर्यटक आउनेमध्ये करिब ७० प्रतिशतले नौका विहार गर्ने गरेका छन्। अहिले सौराहा–दुधौरा घाट, बुढी राप्तीमा बाघमारादेखि खोरसोर, ढुँग्रे खोलामा जनकौलीदेखि हात्ती सारसम्मका विभिन्न रुटमा जलविहार भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विभिन्न नदीका नौ स्थानमा जल सफारी सुविधा उपलब्ध छन्।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार जीन्दागानी–भिमपुर रुट अन्य नयाँ क्षेत्रभन्दा पनि सुन्दर र उपयुक्त मानिन्छ। “पहिले पनि यो क्षेत्रका लागि हामीले ठेक्का आह्वान गरेका थियौँ, तर कोही इच्छुक थिएनन्। यस वर्षबाट मात्र सञ्चालनमा आएको हो,” उहाँले भन्नुभयो। निकुञ्ज क्षेत्रका अन्य भागमा पनि जलविहार विस्तारको सम्भावना रहेको पन्तले बताए।
नौका विहारका लागि विदेशी पर्यटकले निकुञ्ज प्रवेश शुल्क दुई हजार रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार रुपैयाँ र नेपालीले १५० रुपैयाँ तिर्नुपर्छ। डुङ्गा भाडा पाँच सय रुपैयाँ अतिरिक्त तिर्ने व्यवस्था छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij