रौतहट : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालले केपी शर्मा ओलीको हुकुमी शासनको कारण देश बर्बाद भएको आरोप लगाएका छन् ।गृह जिल्ला रौतहटको मध्यभाग गरुडास्थित गोपाल धर्मशालामा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अथिति बनेका नेपालले आफ्ना पार्टी कार्यकर्तालाई 'उठ त उठ बस त बस' भनेर हुकुमी शासन चलाउने गरेको बताएका हुन् ।
ओलीको तानाशाही प्रवृत्तिकै कारण देशमा जेनजी आन्दोलन भएको पनि उनको भनाइ थियो । जेनजीले उठाएको भ्रष्टाचार, सुशासन, विकासलगायत मुद्दा आफ्नै पार्टीको मागसँग मिल्दोजुल्दो रहे पनि समयमा उठाउन नसकेको उनले स्विकारे । ती मागहरू उठाएकोमा जेनजीलाई उनले धन्यवाद पनि दिए ।
जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गराउन आफ्नो व्यक्तिगत तथा पार्टीको समेत सक्रिय भूमिका रहेको नेता नेपालले खुलाएका थिए ।तत्कालीन माओवादीसँग सरकारले गरेको वार्तामा पनि आफूले प्रचण्डलाई सहयोग गरेको उनले उल्लेख गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा नेताहरू समीर भटराई, रामकुमार भट्टराई, कल्याणी खडका, देवेन्द्र पटेल, विन्देश्वर यादव, प्रदेश सांसद कनिस पटेल, गौरका मेयर शम्भु साह, महिला नेतृ देवकी नेपाल, विनिता बख्रेल, वहिद अन्सारी, जितेन्द्रलाल श्रीवास्तव लगायतले मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij